भारत नवौँपटक साफ च्याम्पियन

२० असार  २०८०/सारासन्देश समाचार

कुवेतलाई सडन डेथमा पराजित गर्दै भारत नवौँपटक साफ च्याम्पियन बनेको छ। मंगलबार राती भएको फाइनल निर्धारित र अतिरिक्त समय  १-१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरका सुरुका ५-५ प्रहारमा दुवै टोलीले ४-४ गोल गरेका थिए। छैटौँ प्रहारमा भारतले गोल गरेको थियो भने कुवेतका कप्तान खालेद हजिआले गरेको प्रहार भारतीय गोलरक्षकले रोकेका थिए।

बेंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा भएको खेलमा निर्धारित ९० र अतिरिक्त ३० मिनेटको स्थिति १–१ को बराबरीमा रहेको थियो । यससँगै खेलको निर्णयका लागि टाइब्रेकर आवश्यक परेको थियो । निर्धारित समयको खेलको १४ औं मिनेटमा कुवेतले सुरुआती अग्रता लिएको थियो । अब्दुल्ला अल बलोसीले निकालेको क्रसमा साबिब अल खाल्दीले गोल गरे । कुवेतको यो अग्रता भने लामो समय टिकेन र भारतले ३८ औं मिनेटमा बराबरी गोल फर्कायो ।

भारतका लागि पेनाल्टी सुटआउटमा कप्तान सुनील क्षत्री, सन्देश झिंगन, लालिनजुला, शुभाशिष बोस र महेश सिंहले गोल गरे भने उदान्त सिंह गोल गर्न चुकेका थिए । कुवेतका लागि मोहम्मद अब्दुल्लाह सुरुमै गोल असफल रहे । आमन्त्रित टिमका लागि फवाज अलाताबी, अहमद अलधेरी, अल्दुल अजिज र साबिब अल खाल्दीले मात्र गोल गरे । २५ हजारभन्दा बढी उपस्थित फाइनल खेल नेपालका फिफा रेफ्री प्रज्वल क्षत्रीले खेलाएका थिए ।

नेपालले प्रतियोगितामा फेयर प्लेको ट्रफी जितेको छ । भारत र कुवेतसहितको समूहमा रहेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो । भारतीय कप्तान सुनील क्षत्रीले गोल्डेन बुट र गोल्डेन बल दुवै जिते भने बंगलादेशका अनिसुर रहमान उत्कृष्ट गोलरक्षक चुनिए ।

साफ च्याम्पियनसिपका हालसम्म भएका १४ संस्करणमध्ये भारत १३ वटामा फाइनल पुगेको छ भने ९ वटामा विजेता बनेको हो। भारतले सेमिफाइनलमा लेबनानलाई पनि टाइब्रेकरमा हराएको थियो। भारतले सन् १९९३, १९९७, १९९९, २००५, २००९,२०११, २०१५ र २०२१ मा पनि साफ च्याम्पियनसिप जितेको थियो। नेपालले यो प्रतियोगिता हालसम्म जित्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुर्घटना न्यूनिकरणका लागि जनचेतना जागृति गर्नु पर्छः मुख्य मन्त्री कार्की
Next post चिया बगानको कर उठान नगरसभामा मागः विनियम विपरित कार्यको सुनवाइ नभएको नगरसभाषदको भनाइ (फाेटाे, भिडियाे)