उपनिर्वाचन परिणामः २ स्थानमा रास्वपा अगाडी, बारामा जसपा र जनमतकाे प्रतिष्पर्धा
११ वैशाख २०८०, सारासन्देश समाचार- प्रतिनिधिसभा उपनिर्वाचनमा २०८०काे ३ स्थानकाे मत परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएकाे छ । बारा निर्वाचन क्षेत्र नं. २, चितवन निर्वाचन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं १ मध्ये २ स्थानमा रास्वपाले अग्रता लिन थालेका छन् ।
उपनिर्वाचन भएका तीन वटै निर्वाचन क्षेत्रको मत गणना अहिले जारी छ । तीन वटा मध्य तनहुँ-१ मा करिब ४३ हजार मत गनिसक्दा रास्वपाका डाक्टर स्वर्णिम वाग्लेले ९ हजार भन्दा बढीको अग्रता कायम राख्नुभएको छ । वाग्लेले २२ हजार २ सय ६० मत ल्याउँदा उहाँका निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले १२ हजार ९ सय ११ मत प्राप्त गर्नुभएको छ। यसैगरी, नेकपा एमालेका सर्वेन्द्र खनालले ६ हजार ५ सय ९५ मत प्राप्त गर्नुभएको छ ।
पछिल्लो अपडेट अनुसार चितवन-२ मा रास्वपाका अध्यक्ष रवि लामिछानेले अग्रता लिनुभएको छ । साँझ ६:३० बजेसम्मको नतिजा अनुसार लामिछानेले ४ हजार ३ सय ५८ मत ल्याउँदा उहाँलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले २ हजार ५ सय ८५ र नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले २ हजार २ सय ५ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकता विवादमा सर्वाेच्च अदालतको निर्णयबाट सांसद पदसमेत खारेज भएपछि उपनिर्वाचन भएको हो ।
वारा-२ मा सत्ता गठबन्धनका साझा उमेदवार एवं जसपाका अध्यक्ष उपेन्द्र यादवले २ हजार ६ सय मत पाउँदा जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहले २ हजार ६७ मत प्राप्त गर्नुभएको छ । बारा भने रास्वपाकाे मत धेरै पछाडि परेकाे छ । रास्वपाका रमेश खरेलले भने ३०३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।